बागमती प्रदेश सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
मत्स्य विकास केन्द्र
कुलेखानी, मकवानपुर
परिचय

बागमती प्रदेशमा पर्ने मकवानपुर जिल्लाको उत्तरी पहाडी क्षेत्रमा रहेको इन्द्रसरोवर रिजरभ्वायर विद्युत उत्पादनको उद्देश्यले कुलेखानी खोलामा ड्याम बनाई निर्माण गरिएको मानव निर्मित नेपालकै ठुलो रिजरभ्वायर मध्ये एक हो। यसमा पानी जम्मा पार्नलाई पालुङ खोला¸ चित्लाङ खोला¸ सेती खोला¸ चखेल इनलेट¸ चल्खु खोला¸ ठाडो खोला र धस्कु खोला गरी जम्मा ७ वटा श्रोतहरु रहेका छन्। समुद्र सतहदेखि १५०० मीटर उचाईमा रहेको यस रिजरभ्वायरको नाम स्व. मुमा बडामहारानी ईन्द्रराज्यलक्ष्मी शाहको सम्झनामा इन्द्रसरोवर रिजरभ्वायर राखिएको हो।पूर्ण क्षमतामा संचालन भएको अवस्थामा कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत आयोजना मार्फत क्रमशः ६०, ३२ र १४ गरी जम्मा १०६ मेघावट विद्युत उत्पादन भइरहेको छ।पूर्णरुपमा रिजरभ्वायरमा पानी भरिएको समयमा २१६ हेक्टर र हिउँदमा ५५ हेक्टर पानी रहेको हुन्छ भने रिजरभ्वायरको ‌औषत लम्बाई ७ कि.मि.र चौडाइ ५०० मिटरसम्म रहेको छ।

मुख्यतः यस रिजरभ्वायरको पानी विद्युत उत्पादनको लागि जम्मा गरिएको भएतापनि यसको अतिरिक्त पानीको बहुआयामिक उपयोग गरी आयोजनाकालमा विस्थापित भएका सरोकारवाला कृषकहरुलाई स्थानीय स्तरमै वैकल्पिक रोजगारी प्रदान गर्ने तथा प्राणी प्रोटीनको उपलब्धतालाई बढाउने उद्देश्यले वि.सं. २०४१ साल देखि तत्कालीन श्री ५ को सरकार र IDRC (International Development Research Centre,Canada) को संयुक्त लगानीमा केजमा माछा पालन गर्ने परीक्षणको रुपमा संचालन गरिएको थियो।प्राकृतिक आहारा खाएर हुर्कने सिल्भरकार्प (Hypophthalmichthys molitrix) र विगहेडकार्प (Hypophthalmichthys nobilis) जातका माछाहरुको केजमा पालन परीक्षण कार्य सफल भएपछि वि.स.२०४५ सालदेखि निजी स्तरमा कृषकहरुलाई केजमा माछा पालन कार्यको थालनी गरिएको र उक्त कार्यमा सफलता मिलेपछि वि.स. २०६६ सालमा श्री इन्द्रसरोवर मत्स्य व्यवसायी संघको स्थापना गरी रिजरभ्वायरमा मत्स्य पालन कार्य संचालन हुँदै आइरहेको छ।हाल मत्स्य व्यवसायी संघमा ६८५ जना सेयर सदस्य रहेका छन्।

वि.स. २०४१ सालदेखि २०४९ साल सम्म इन्द्रसरोवर मत्स्य विकास आयोजना नामबाट संचालित यस केन्द्र आ.व. २०४९/०५० देखि तत्कालीन श्री ५ को सरकार, मत्स्य विकास केन्द्र, इन्द्रसरोवर, कुलेखानीको नामबाट संचालन हुदै आएको र आ.व. २०६०/०६१ देखि रिजरभ्वायर मत्स्य विकास केन्द्र, कुलेखानी हुँदै वि.स. २०75 सालदेखि बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको मातहतमा मत्स्य विकास केन्द्र, कुलेखानीको नामले संचालित हुदै आएको केन्द्र इन्द्रसरोवर गाउँपालिका वडा नं.१ मार्खुमा पर्दछ।